काठमाडौँ
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली लाई ६ विकेटले हराएको छ। जारी शृंखलामा नेपालको यो दोस्रो जीत हो।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। कप्तान रोहित पौडेल ७४ रनमा अविजित रहे। उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
रोहितले इशान पाण्डे सँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई जीततर्फ डोर्याए। इशानले ५५ रन बनाए। कुशल भुर्तेल ले २८ रन र आसिफ शेख ले २९ रनको योगदान दिए। आरिफ शेख ८ रनमा अविजित रहे।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९४ रनमा समेटियो। ब्रेन्डन म्याकमुलेनले ७३ रन र माइकल इंग्लिसले ५१ रन बनाए।
नेपालका लागि ललित राजवंशी ले ४ विकेट लिए भने सन्दीप लामिछाने ले ३ विकेट हात पारे। नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी ले समान एक–एक विकेट लिए।
यस जीतसँगै नेपाल अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। अब नेपालले शुक्रबार संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोली विरुद्ध अन्तिम खेल खेल्नेछ।











