सिलगढी /जल तथा मौसम विज्ञान विभाग का अनुसार देशभर वर्षा गराउने पश्चिमी वायुको अर्को प्रणाली नेपाल भित्रिने क्रममा रहेको छ। यस प्रणालीका कारण आगामी दुई दिन देशका अधिकांश क्षेत्रमा वर्षा हुने र तापक्रम घटेर चिसो बढ्ने सम्भावना रहेको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार पश्चिमी वायुले उत्तरतर्फको चिसो हावा नेपाल भित्र्याउने भएकाले वैशाख २८ गते रातिदेखि देशभर उल्लेख्य वर्षा हुन सक्छ। मौसमविद् उज्ज्वल उपाध्यायले पनि सोमबार र मंगलबार काठमाडौँ उपत्यकासहित देशभर मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने बताएका छन्।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय क्षेत्रको प्रभाव कायम छ। यसले विभिन्न प्रदेशमा बादल लाग्ने, मेघगर्जन र चट्याङसहित वर्षा हुने क्रम जारी राखेको छ।
मौसम पूर्वानुमानअनुसार वैशाख २८ र २९ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।
प्रीमनसुन अवधिमा लगातार वर्षा भइरहेकाले गर्मीको मौसममा पनि चिसो महसुस भइरहेको मौसमविद्हरूले बताएका छन्। वर्षा, चट्याङ र हावाहुरीका कारण दैनिक जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।











