सिलगढी / डोटीको सायल गाउँपालिका–५ देवरमाण्डौँस्थित श्री बाल ज्योति आधारभूत विद्यालयमा हावाहुरीका कारण छाना उड्दा क्षति पुगेको छ।
प्रहरीका अनुसार आज आइतबार वर्षासँगै आएको तीव्र हावाहुरीले जस्ता पाताले छाएको एकतले पाँचकोठे विद्यालय भवनको छाना उडाएको हो।
विद्यालयका शिक्षक दीपक ब. खड्काले जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थलगत निरीक्षण गर्दा छानाका जस्ता पाता र काठ उडेर टुटफुट भएको पाइएको छ।
घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।











