सिलगढी/ डोटीको आदर्श गाउँपालिका–३ नुवाकोटमा विद्युतको तार सर्ट हुँदा आगलागी भई गोठ जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार आज शुक्रबार बिहान करिब ४ बजे धौले कामीको ढुङ्गा–माटोले बनेको, पत्थरले छाएको एकतले गोठमा आगलागी भएको हो। आगलागीबाट गोठभित्र बाँधिएको एक गोरुको जलेर मृत्यु भएको छ।
आगलागीमा गोठभित्र रहेका काठ, पराल लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने सँगै जोडिएको भान्सामा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनामा मानवीय क्षति भने नभएको र स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार आगलागीबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।











