बाजुरा /बाजुराका अधिकांश किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ। गाउँबस्तीमा सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको स्याउ देशका ठूला सहरसम्म पुग्न थालेपछि किसानको चासो बढेको हो।
पहिले सडक सुविधा अभावका कारण किसानहरू स्याउ खेतीतर्फ खासै आकर्षित थिएनन्। तर अहिले सडक पहुँच सहज भएसँगै उत्पादन बजारसम्म पुर्याउन सजिलो भएको छ।
बुढीनन्दा नगरपालिका–८ का कृषक चक्रबहादुर कठायतका अनुसार स्याउ खेतीले जीविकोपार्जनमा सकारात्मक परिवर्तन ल्याएको छ। “पहिला गाउँमा सडक थिएन, गाडी आउँदैनथ्यो। अहिले घरआँगनमै सवारी साधन पुग्ने भएपछि स्याउ बिक्री गर्न सहज भएको छ,” उनले बताए।
पहिले धान, गहुँ र जौजस्ता अन्नबाली लगाउने किसान अहिले स्याउ खेतीतर्फ आकर्षित भएका छन्। स्याउबाट राम्रो आम्दानी हुन थालेपछि धेरै किसानले अन्नबालीको ठाउँमा स्याउ रोप्न थालेका छन्।
जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा र खप्तड छेडेदह क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ। तीमध्ये बडिमालिका नगरपालिका–९ र १० को पाण्डुसैन क्षेत्र स्याउ उत्पादनका लागि प्रमुख मानिन्छ।
पछिल्लो समय गौमुल, बडिमालिका र बुढीगङ्गा क्षेत्रमा स्याउ खेती थप विस्तार भइरहेको छ। बाजुरामा उत्पादन हुने अर्गानिक स्याउ अहिले देशका विभिन्न सहरमा बिक्री हुन थालेको छ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा करिब १७० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ। ढुवानी अनुदानका कारण उत्पादन भएका स्याउ बजारसम्म पुर्याउन सहज भएको उनले बताए।
पहिले स्थानीय जातका स्याउ मात्र उत्पादन हुने बाजुरामा अहिले फुजी, गाला र गोल्डेन जातका स्याउसमेत उत्पादन हुन थालेका छन्। गत वर्ष करिब एक हजार २० मेट्रिक टन उत्पादन भएकोमध्ये झन्डै ६ सय मेट्रिक टन स्याउ विभिन्न सहरमा बिक्री गरिएको जनाइएको छ।











