सिलगढी /हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी र हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम प्रायः सफा रहने जनाइएको छ। साथै कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा पनि मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराईमा भने मौसम मुख्यतः सफा रहनेछ।
महाशाखाले कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ।











