कैलाली / सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय को चौथो सभा (सिनेट) बैठक आजदेखि सुरु भएको छ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल को अध्यक्षतामा बसेको बैठकमा कमलबहादुर शाह सहित पदाधिकारी, सदस्य तथा उच्च पदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको छ।
विश्वविद्यालय रहेको कैलालीको गेटामा पहिलो पटक सभा बैठक सञ्चालन गरिएको हो। यसअघि विश्वविद्यालयका तीन वटा सभा बैठक काठमाडौंमा सम्पन्न भएका थिए।
विश्वविद्यालय सञ्चालनका लागि गेटामा चार दर्जनभन्दा बढी भवन तथा अन्य संरचना निर्माण भइसकेका छन्, जसमा करिब ७ अर्ब रुपैयाँ खर्च भएको सरकारी तथ्याङ्कले देखाएको छ।
हाल गेटामा ५० शय्याको अस्पताल सञ्चालनमा रहेको छ। आगामी वर्षदेखि एमबिबिएस, नर्सिङलगायतका कक्षा सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यालय स्रोतले जनाएको छ।
सुदूरपश्चिमवासीले लामो समयदेखि गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै आएका सन्दर्भमा यो सभा बैठकलाई चासोका साथ हेरिएको छ।











