सिलगढी
डोटीको के.आई. सिंह गाउँपालिका–५ सैनस्थित सेती नदी किनारमा एक अज्ञात पुरुषको शव फेला परेको छ।
प्रहरीका अनुसार घटनास्थलमा पुगेको टोलीले नाम, थर र ठेगाना नखुलेको पुरुषको अर्धसडेगलेको अवस्थामा शव घोप्टो परेको अवस्थामा फेला पारेको हो।
बुधबार बिहान स्थानीयले नदी किनारको पानीमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट समेत अर्को टोली परिचालन गरिएको छ। शवको पहिचान तथा घटनाको कारण खुलाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











