सिलगढी/ जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ। विशेषगरी लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले आज बिहान जारी गरेको सूचनाअनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा सामान्य बदली रहेको छ। यीमध्ये सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको जनाइएको छ।
शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशका दाङ, नेपालगञ्ज आसपासका तराई क्षेत्र तथा शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ। हावाहुरीको गति करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम बदलीसँगै आउने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार हावाहुरीका कारण रुख ढल्ने, घरका छाना उड्ने, कमजोर संरचनामा क्षति पुग्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने खतरा रहेको छ।
प्राधिकरणले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, हावाहुरीका बेला सुरक्षित स्थानमा बस्न, झ्यालढोका मजबुत रूपमा बन्द गर्न तथा सवारी चलाइरहेका बेला सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको छ। साथै अग्ला रुख, बिजुलीका पोल तथा तार नजिक नबस्न र जोखिमयुक्त स्थानबाट टाढा रहन समेत अनुरोध गरिएको छ।











