सिलगढी,
डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ इनाडामा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। सोमबार बिहान करिब १० बजे इनाडाबाट कैलालीतर्फ जाँदै गरेको से. १ च १५१७ नम्बरको बोलेरो जिप उकालोमा ब्याक हुन गई करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक कैलाली गौरीगंगा नगरपालिका–९ का २८ वर्षीय सन्तोष सापकोटा खुट्टा र कम्मरमा चोट लागी मध्यम अवस्थामा रहेका छन्। त्यस्तै कैलाली घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेश बिनाडी टाउको र ढाडमा चोट लागी गम्भीर घाइते भएका छन्।
यसैगरी डोटी बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरका १७ वर्षीय नरेश साउँद टाउको, अनुहार र ढाडमा चोट लागी गम्भीर अवस्थामा छन् भने अछाम ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा टाउको, हात र खुट्टामा चोट लागी मध्यम अवस्थामा रहेका छन्।
घाइतेहरूलाई उपचारका लागि धनगढीतर्फ पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी हवल्दार पदमराज जोशीको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।











