सिलगढी— नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो देशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने पहाडी र तराई भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।











