बैतडी — बैतडीको पुर्चौडी नगरपालिका–१० महरगाउँमा एकै घरका दुई बालकको ज्वरोका कारण मृत्यु भएको छ।
स्थानीय कैलाश महरा र मानमती महराका १३ वर्षीय छोरा विनोद महरा र १० वर्षीय छोरा विकास महरा को ६ दिनको अन्तरालमा ज्यान गएको वडा सदस्य विष्णु अवस्थीले जानकारी दिए। महरा दम्पतीका दुई मात्रै सन्तान रहेका थिए।
कक्षा ७ मा अध्ययनरत विनोदको फागुन ११ गते मृत्यु भएको थियो भने कक्षा ५ मा अध्ययनरत विकासको आज मृत्यु भएको जनाइएको छ। दुवै बालकलाई सुरुमा ज्वरो आएको र दुई–तीन दिनमै अवस्था गम्भीर बनेर ज्यान गएको वडा सदस्य अवस्थीले बताए।
छ दिनको अन्तरमा दाजुभाइ दुवैको मृत्यु भएपछि स्थानीयले फोनमार्फत नगरपालिकाको स्वास्थ्य शाखालाई खबर गरेका थिए। स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरका अनुसार बिहान साढे नौ बजे खबर प्राप्त हुनासाथ स्वास्थ्यकर्मीको टोली महरगाउँतर्फ प्रस्थान गरेको छ।
प्रारम्भिक जानकारी अनुसार बिरामीमा उच्च ज्वरो, वान्ता तथा जिउ दुख्ने लक्षण देखिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाको स्वास्थ्यकर्मी टोली डाक्टर तथा ल्याबसहित गाउँमा पुगेर थप परीक्षण र आवश्यक उपचारको व्यवस्था गर्ने तयारीमा रहेको जनाइएको छ।
दुई सन्तान ६ दिनको अन्तरमा गुमाएपछि महरा दम्पती विक्षिप्त अवस्थामा रहेका छन् भने गाउँमा रोगको त्रास फैलिएको बताइएको छ। स्वास्थ्यकर्मीको टोलीले रोगको कारण पहिचान तथा नियन्त्रणका लागि अनुसन्धान सुरु गर्ने जनाएको छ।











