सिलगढी —केही दिनदेखि देशभर मौसम बदली भई हिमाली तथा पहाडी भेगका विभिन्न स्थानमा दैनिकजसो हल्का वर्षा र हिमपात भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौँ, नुवाकोट, चितवन, स्याङ्जा र डोटीका केही क्षेत्रमा वर्षा भएको थियो।
उच्च पहाडी तथा हिमाली भू–भागका विभिन्न स्थानमा हिमपातसमेत भएको विभागले जनाएको छ। पछिल्ला तीन दिनदेखि सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात भइरहेको हो।
विभागका अनुसार आज र भोलि पनि मौसम बदली रहनेछ र वर्षाको सम्भावना कायमै छ। पश्चिमी क्षेत्रको तुलनामा पूर्वतर्फ बढी बदली हुने अनुमान गरिएको छ। आज बिहान तराईका केही स्थानमा हुस्सु लागेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमका कारण सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।











