सिलगढी: जल तथा मौसम विज्ञान विभागले फागुन २० गतेदेखि २२ गतेसम्म हुने चुनावका क्रममा देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको चुनाव विशेष मौसमी बुलेटिनअनुसार हालसम्मको मौसमी तथ्याङ्क विश्लेषण गर्दा चुनाव अवधिमा ठूलो वर्षा वा प्रतिकूल मौसमी अवस्था देखिने सम्भावना न्यून रहेको उल्लेख गरिएको छ।
महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा फाट्टफुट्ट वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ। यद्यपि ती गतिविधि सामान्य प्रकृतिका हुने र व्यापक प्रभाव पार्ने खालका नरहने जनाइएको छ।
मधेस प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली भए पनि वर्षा वा हिमपातको सम्भावना कम रहेको विशेष बुलेटिनमा उल्लेख गरिएको छ।
सबै प्रदेशका तराई क्षेत्रमा भने मौसम सफा रहने पूर्वानुमान गरिएको छ, जसले मतदान कार्यलाई सहज बनाउने अपेक्षा गरिएको छ।
विभागले मतदातालाई सामान्य सतर्कता अपनाउन र स्थानीय मौसम अद्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ।











