संखुवासभा/ संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो। भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको छ।
बिहानीपखको समयमा अधिकांश मानिस मस्त निद्रामा रहेका बेला धक्का महसुस भएपछि सर्वसाधारण आत्तिँदै घरबाहिर निस्किएका थिए।
प्रारम्भिक जानकारीअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरूले जनाएका छन्। थप विवरण संकलन भइरहेको बताइएको छ।











