बैतडी — चुनाव प्रचारप्रसारका क्रममा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।
जिल्लाको डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रमका क्रममा दुवै पक्षबीच विवाद चर्किएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेमा सोही वडाका २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी रहेका छन्। दुवै जना एमाले निकट युवा संघसँग आबद्ध रहेको बताइएको छ। झडपमा जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको र अवस्था हाल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले दुवै पक्षबीच दोहोरो झडप भएको जनाएको भए पनि एमालेले भने घरदैलो कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा आफ्ना कार्यकर्तामाथि ज्यान मार्ने उद्देश्यले हतियार प्रयोग गरी आक्रमण गरिएको दाबी गरेको छ। दुवै जना एक्लै भएको मौकामा आक्रमण गरिएको एमालेको आरोप रहेको छ।











