सिलगढी/ जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज साँझसम्म देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। उपत्यकासहित कोशी र गण्डकी प्रदेशका केही स्थानमा बादल लाग्नुका साथै हल्का मेघगर्जनसमेत सुरु भएको महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा हल्का वर्षा तथा हिमपातको सम्भावना देखिएको हो। उनका अनुसार साँझपछि उक्त प्रणाली कमजोर हुँदै जाने भएकाले मौसम क्रमशः सुधार हुने अपेक्षा गरिएको छ।
पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि यस्तै मौसम रहने सम्भावना रहेको छ।
यसैबीच, तराईका केही क्षेत्रमा बिहीबार बिहानसम्म हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ। हुस्सु र कुहिरोका कारण सवारी आवागमन तथा हवाई उडानमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।











