सिलगढी,फागुन ४
देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशमा सामान्यतया बदली रहेको छ भने अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको जनाइएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
सोमबार तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ, जसले दैनिक जनजीवन र यातायातमा सामान्य प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।











