सिलगढी / डोटीको दक्षिण भेगमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठूलाकेदार धाममा आगामी फागुन ३ गते बृहत् शिवरात्री मेला तथा विशेष पूजन कार्यक्रम आयोजना गरिने भएको छ।
स्थानीय आयोजक समितिका अनुसार शिवरात्रीको अवसरमा धाममा ठूलो संख्यामा भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ। उक्त दिन विशेष रुद्री पाठ, महादीप प्रज्वलन तथा भगवान शिवको विधिपूर्वक पूजाआजा गरिने बडिकेदार पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत गणेशराज जोशीले जानकारी दिएका छन्।
हरेक वर्ष शिवरात्रीका अवसरमा यस धाममा देशका विभिन्न स्थानबाट तीर्थालुहरू पूजा, दर्शन तथा धार्मिक अनुष्ठानका लागि आउने गरेका छन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत शिवरात्री मेलाले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
मेलालाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था, स्वास्थ्य सेवा तथा आवश्यक भौतिक पूर्वाधार तयारीलाई तीव्रता दिइएको आयोजक समितिले जनाएको छ। साथै, सम्पूर्ण भक्तजन तथा तीर्थालुहरूलाई मेलामा सहभागी भई धार्मिक लाभ लिन आग्रह गरिएको छ।











