सिलगढी,
देशभर अहिले कमजोर पश्चिमी वायुको प्रभाव देखिएको छ। यसका कारण तराई क्षेत्र र उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णालीसहित उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बादल र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि तराईका केही स्थानमा तुँवालो कायमै रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णालीका उच्च भेगमा हल्का वर्षा वा हिमपातको सम्भावना रहनेछ।
महाशाखाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ। तर तराई र उपत्यकामा तुँवालो तथा स्थिर मौसमका कारण वायु प्रदूषण बढ्न सक्ने भएकाले सर्वसाधारणलाई स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरिएको छ।











