सिलगढी,
डोटीको शिखर नगरपालिका–११ बारबाटा घर भएका २४ वर्षीय एक युवक मृत अवस्था फेला परेका छन् । डाेटी प्रहरीकाअनुसार स्थानीय सन्तोष रोकाया मृत अवस्थामा फेला परेका छन्।
उनी आइतबार साँझ मामाघरबाट घर फर्कने क्रममा बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सन्तोष माघ २० गते साँझ करिब ६ बजे शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैनस्थित मामाघरबाट घर जाने भन्दै हिँडेका थिए। तर घर नपुगेपछि आफन्तले खोजी सुरु गरेका थिए।
खोजतलासका क्रममा मंगलबार दिउँसो करिब ४ बजेर १० मिनेटमा शिखर नगरपालिका–८ गोल्मागाडस्थित खोलाको किनारमा पानीभित्र उनको शव फेला परेको हो।
साथै जिल्ला प्रहरी कार्यालय डोटीबाट थप अनुसन्धानका लागि प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा पाँच जनाको टोली खटाइएको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।











