सिलगढी, माघ २०
भारतको उत्तर प्रदेशस्थित पलियाबाट धनगढीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। दुर्घटना सोमबार पलिया–दुधुवा सडकखण्डअन्तर्गत दुधुवा टाइगर रिजर्वको सहेली नदी नजिक भएको हो।
भारतीय प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा बाइकमा सवार युवकको घटनास्थलमै मृत्यु भएको हो। स्थानीय थानाका प्रभारी पंकज त्रिपाठीले दुर्घटनाबारे जानकारी दिएका छन्।
दुर्घटनापछि मृतक युवकको शव स्थानीय अस्पतालमा राखिएको भए पनि हालसम्म उनको पहिचान खुल्न सकेको छैन। प्रहरीले मृतकको पहिचान गर्न कैलालीस्थित नेपाल प्रहरीसँग समन्वय गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार मृतक धनगढीका बासिन्दा भएको अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।











