सिलगढी,माघ २० गते
नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव जारी रहँदा देशका विभिन्न क्षेत्रमा मौसम प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बादल देखिएको छ। ती क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
महाशाखाले आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम खालको वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसका साथै बाँकी हिमाली भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा र हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।











