सिलगढी, माघ २०
कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट खैरो हेरोइनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लागूऔषध नियन्त्रण अभियानअन्तर्गत विभिन्न स्थानमा चेकजाँच र सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
धनगढी उपमहानगरपालिका–६ जाली क्षेत्रमा शंका लागेर चेकजाँच गर्दा २३ वर्षीय विशाल चौधरीको साथबाट ४९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
यसैगरी, घोडाघोडी नगरपालिका–१ बेलारबाट ३० वर्षीय दिनेश कुँवरलाई १०० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय सुखडको टोलीले पक्राउ गरेको छ।
उता कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा लागूऔषध खरिद–बिक्री भइरहेको गोप्य सूचनाका आधारमा खटिएको संयुक्त टोलीले २४ वर्षीय निरज राना र ३२ वर्षीय सुरेन्द्र रानालाई ९७ मिलिग्राम लागूऔषध र एक मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। सो कारबाहीमा लागूऔषध नियन्त्रण ब्युरो धनगढी र इलाका प्रहरी कार्यालय रैकवार सहभागी थिए।
त्यस्तै, बेलडाँडी गाउँपालिका–३ बनकुरुवामा स्कुटी चेकजाँचका क्रममा चालक २६ वर्षीय रिमलाल डगौरा र पछाडि सवार २५ वर्षीय भुवन सिंहको साथबाट ८ ग्राम ३६० मिलिग्राम लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
यसैबीच, बेलौरी नगरपालिका–१० जर्सिखल्लामा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्दा २६ वर्षीय दिपेन्द्र चौधरी र ३३ वर्षीय रमेश मल्लको साथबाट २ ग्राम ४० मिलिग्राम लागूऔषध बरामद गरिएको छ।
प्रहरीका अनुसार सबै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने लागूऔषध सञ्जालबारे थप अनुसन्धान जारी रहेको छ।











