सिलगढी, माघ १९
नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएपछि मौसममा फेरबदल देखिएको छ। पछिल्लो २४ घण्टामा केही स्थानमा छिटपुट वर्षा मापन भए पनि चिसोको अनुभव बढेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार विशेषगरी तराई र हिमाली क्षेत्रको मौसम प्रभावित रहनेछ। आज दिउँसो तराईका विभिन्न स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना छ, जसले जनजीवन र यातायातमा सामान्य असर पार्न सक्छ।
हिमाली भेगको मौसम पनि पूर्ण रूपमा खुल्ने छैन। साधारणतया हिमाली जिल्लाहरूमा बादल लाग्ने र बाँकी पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। केही हिमाली स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना पनि देखिएको छ।
राति पनि तराईमा हुस्सु रहने छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र वर्षा हुने प्रक्षेपण गरिएको छ। पश्चिमी वायुको प्रभावले तापक्रममा केही गिरावट आउन सक्ने भएकाले मौसमविद्ले सतर्क रहन आग्रह गरेका छन्।











