डडेल्धुरा । जिल्ला निर्वाचन कार्यालय डोटीको स्कारपियो डडेल्धुरामा दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन्।
केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ स्थित रडुवा खोला नजिक डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
दुर्घटनामा डोटीका निर्वाचन अधिकृत तथा अजयमेरु गाउँपालिका–६ का ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भई सशस्त्र प्रहरी बल ३६ नम्बर गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालिका निवासी तथा नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सूर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी घाइते भएका छन्।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











