सिलगढी । मङ्गलबार र बुधबार सक्रिय बनेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर भएसँगै देशका धेरै स्थानमा प्रभावित जनजीवन आजदेखि क्रमशः सामान्य बन्दै गएको छ। लगातारको वर्षा र हिमपातका कारण अवरुद्ध बनेका उच्च पहाडी तथा हिमाली जिल्लाका सडकहरू हिउँ पन्छाइएपछि सञ्चालनमा आएका छन्।
हिमपातका कारण ठाउँठाउँमा यातायात अवरुद्ध हुँदा सर्वसाधारणलाई समस्या भएको थियो। तर आज साँझसम्ममा सुरक्षाकर्मीको सक्रियतामा अधिकांश अवरुद्ध सडक खुलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सशस्त्र प्रहरीले मुस्ताङ जाने सडक खण्डमा परेको बाक्लो हिउँ पन्छाएर आवागमन सुचारु गराएको छ भने अन्य क्षेत्रका राजमार्गहरू पनि क्रमशः खुल्दै गएका छन्।
हिजो अपराह्नदेखि मौसममा सुधार आउन थालेपछि आज बिहानैदेखि धेरै स्थानमा घाम लागेको छ। मौसम खुल्दै जाँदा दैनिक जनजीवन सामान्य अवस्थामा फर्किएको प्रहरीको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रणाली बाहिरिएसँगै अधिकांश स्थानमा मौसम सफा भए पनि बिहान र बेलुका चिसो भने कायम रहनेछ। उनले चिसोबाट जोगिन सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहेको बताए। यद्यपि, मङ्गलबार र बुधबार जस्तो व्यापक असर पर्ने अवस्था भने आइतबारसम्म नरहेको उनको भनाइ छ।
पछिल्लो प्रणालीका कारण काठमाडौँ उपत्यकासहित पश्चिम कोशी र मधेस प्रदेशबाहेकका अधिकांश भागमा वर्षा र हिमपात भएको थियो। सबैभन्दा धेरै वर्षा सुर्खेतमा ४३ मिलिमिटर मापन गरिएको छ।
आज साँझको मौसम बुलेटिनअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस, जोमसोममा शून्य डिग्री र दोलखाको जिरीमा माइनस ०.८ डिग्री सेल्सियस रहेको छ।
काठमाडौँमा ४.८, ताप्लेजुङमा ५.९ र दिपायलमा ५.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ।











