सिलगढी। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा पूर्णतया बादल लागेको छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यी प्रदेशका उच्च भेगका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भेगका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।











