काठमाडौं /काठमाडौँ उपत्यकामा हिउँदे वर्षा प्रवेश गर्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको चन्द्रागिरी क्षेत्रमा वर्षा सुरू भइसकेको छ भने केही समयमै उपत्यकाका अन्य भागमा पनि पानी पर्ने सम्भावना रहेको छ।
मौसमविद् बिनु महर्जनका अनुसार नेपालमा सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण उपत्यकामा मध्यान्हअघि नै वर्षा देखिएको हो। मध्यान्हतिर प्रवेश गर्ने भनिए पनि प्रणाली छिट्टै सक्रिय भएकाले पानी चाँडै परेको उनले बताइन्।
उनका अनुसार काठमाडौँमा लामो समय निरन्तर वर्षा हुने सम्भावना छैन। “दुईदेखि तीन घण्टाभित्रै वर्षा कमजोर हुँदै जानेछ,” उनले भनिन्, “उपत्यकाका दुई–तीन स्थानमा हल्का र एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्छ, भारी वर्षाको सम्भावना भने छैन।”
मौसमविद् महर्जनका अनुसार साँझसम्म वर्षा प्रणाली काठमाडौँबाट बाहिरिनेछ। आज दिनभर घाम नलागे पनि साँझतिर बादल क्रमशः खुल्ने सम्भावना रहेको छ। वर्षा गराउने प्रणाली साँझपछि पूर्वतर्फ सर्दै कमजोर हुँदै जाने उनले बताइन्।
यसको प्रभाव मधेस प्रदेशका थोरै स्थान र कोशी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाका रूपमा देखिन सक्ने अनुमान गरिएको छ। तर कोशी प्रदेशको तराई भेगमा भने वर्षाको सम्भावना न्यून रहेको मौसमविद्को भनाइ छ।
आज रातिदेखि नै देशका अधिकांश भूभागमा मौसम सफा हुने जनाइएको छ। पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने भए पनि बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार हाल देखिएको यही प्रणाली नै यस वर्षको प्रमुख हिउँदे वर्षा हो। आगामी दिनमा पश्चिमी वायु आउने–जाने भए पनि अहिलेको जस्तो बलियो प्रणाली फेरि आउने सम्भावना कम रहेको बताइएको छ।
काठमाडौँमा चिसो महसुस भए पनि न्यूनतम तापक्रम बिहान ८.५ डिग्री सेल्सियस मापन गरिएको छ। भिजिबिलिटी केही कम भए पनि तापक्रममा भने खासै गिरावट आएको छैन।
यसैबीच पछिल्लो १२ घण्टामा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। पोखरामा बिहानदेखि नै वर्षा भइरहेको छ भने लुम्बिनी र कर्णालीका केही स्थान, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा पनि पानी परेको छ।











