सिलगढी । मंगलबार रातिदेखि मौसममा आएको बदलीसँगै देशका विभिन्न उच्च पहाडी तथा हिमाली जिल्लामा भारी हिमपात भएको छ। मुस्ताङदेखि सुदूरपश्चिमका बैतडी र बाजुरासम्मका डाँडाकाँडा हिउँले सेताम्मे बनेका छन्। हिमपातका कारण चिसो अत्यधिक बढेर जनजीवन कष्टकर बनेको छ भने लामो खडेरीपछि परेको हिउँ र वर्षाले हिउँदे बाली सप्रने आशामा किसानहरू उत्साहित देखिएका छन्।
मुस्ताङमा मंगलबार रातिदेखि नै लगातार हिमपात भइरहेको छ। जिल्लाका धेरै स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। वर्षा र हिमपातका कारण कागबेनी–कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ, जसले यातायात र आवतजावतमा समस्या सिर्जना गरेको छ।
कर्णाली प्रदेशका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा पनि बाक्लो हिमपात भएको छ। हुम्लाको सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हिमपातका कारण सिमकोट विमानस्थलबाट हुने हवाई सेवा प्रभावित भएको छ भने लिमी, न्यालु, यारी र हिल्सा जोड्ने सडकहरू समेत बन्द भएका छन्।
सुदूरपश्चिमका बैतडी र बाजुरामा बुधबार बिहानदेखि नै बाक्लो हिमपात भइरहेको छ। बैतडीका सिगास, खोडपे, अनारखोली र ढोल्यामोड क्षेत्र हिउँले ढाकिएका छन्। बाजुराका बडीमालिका, बुढीगङ्गा, हिमाली र गौमुल गाउँपालिकाका लेकाली भेगमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। विशेषगरी हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन र बाधु क्षेत्रमा चिसो र हिउँका कारण दैनिकी कठिन बनेको स्थानीयको भनाइ छ।
गण्डकी प्रदेशको बागलुङस्थित ढोरपाटन उपत्यकामा पनि बाक्लो हिमपात भएको छ। चिसोका कारण धारामा पानी जमेको छ भने स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या भएको छ। निसीखोलाको रिग र पातीहाल्ने क्षेत्रमा पनि हिउँ जमेको छ।
हिमपातले सर्वसाधारणको दैनिकी प्रभावित भए पनि कृषि क्षेत्रका लागि भने यो राहतको रूपमा देखिएको छ। लामो समयसम्म पानी नपर्दा सुक्न थालेका हिउँदे बालीका लागि हिमपात र वर्षा वरदान सावित हुने कृषि विज्ञहरूको भनाइ छ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीका अनुसार हिमपातले स्याउ, उवा, फापर र जौ बालीलाई ठूलो राहत पुगेको छ। त्यस्तै बाजुराका कृषि ज्ञान केन्द्र प्रमुख जसीराम सहानीले वर्षा र हिमपातले गहुँ बाली सप्रने विश्वास व्यक्त गरेका छन्। बैतडी र बागलुङका किसानहरू पनि यस वर्ष गहुँ र आलुको उत्पादन बढ्ने अपेक्षामा देखिएका छन्।











