डडेल्धुरा । डडेल्धुरामा एक महिला मृत फेला परेको घटनामा संलग्न आशंकामा एक जना प्रहरी पक्राउ परेका छन्।
अमरगढी नगरपालिका–४ मा मृत भेटिएकी भागेश्वर गाउँपालिकाकी सरिता गिरीको घटनामा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी चालक यज्ञ साउदलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक गिरीले मृत्यु हुनुअघि सामाजिक सञ्जालमा पक्राउ परेका प्रहरीसँगको सम्बन्ध खुल्नेगरी केही विवरणहरू सार्वजनिक गरेकी थिइन्। सोही आधारमा साउदलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धानमा मृतक महिला र पक्राउ परेका प्रहरीबीच अनैतिक सम्बन्ध रहेको देखिएको प्रहरीले जनाएको छ। मृतकका श्रीमान् भने लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको खुलेको छ।
घटनाको प्रकृति गम्भीर भएकाले सबै पक्षबाट अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।











