बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकामा लडेर एक जनाको मृत्यु भएको छ। त्रिवेणी नगरपालिका–९ ताम्सुका ४१ वर्षीय भीमबहादुर थापाको लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार थापा बिहीबार राति करिब ८ बजे गाउँ नजिकैको पसलबाट घर फर्किने क्रममा बीच बाटोमा लडेका थिए। गम्भीर घाइते अवस्थामा रहेका उनलाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको थियो।
अस्पताल पुर्याइएलगत्तै चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन्। प्रारम्भिक जाँचमा मृतकको टाउको र शरीरमा भित्री चोट लागेको र समयमै उपचार नपुगेकाले ज्यान गएको अनुमान गरिएको प्रहरीले जनाएको छ।
हाल थापाको शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











