सिलगढी। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
बुधबार दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने अन्य भूभागमा मौसम खुला रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि तराईका केही स्थानमा हुस्सु लाग्ने तथा पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
मौसमविद्हरूले विशेषगरी तराई क्षेत्रमा बिहान–साँझ यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिएका छन्।











