मनमाेहन ठकुल्ला,
डाेटी- माघ ५ गते साेमबार
निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली काँग्रेसको आधिकारिक सभापतिको मान्यता दिएसँगै पार्टीभित्र तरङ्ग पैदा भएको छ। थापाले जिम्मेवारी सम्हालेसँगै काँग्रेसमा अब साँच्चिकै नयाँ पुस्ताले अवसर पाउला कि फेरि पुरानै अनुहार दोहोरिन्छन् भन्ने जिज्ञासा आम जनमानसमा उब्जिएको छ।
थापा नेतृत्वमा आएपछि सामाजिक सञ्जालमा “पटक–पटक सांसद भइसकेकाहरू नै अघि बढाइन्छन् कि युवालाई मौका दिइन्छ ?” भन्ने प्रश्नले व्यापक चर्चा पाएको छ। नेतृत्व परिवर्तनसँगै काँग्रेसमा पुस्तान्तरण व्यवहारमै लागू हुन्छ कि हुँदैन भन्ने बहस पुनः सतहमा आएको छ।
भदौ २३/२४ को ‘जेन–जी आन्दोलन’ पश्चात् गगन थापा सामाजिक सञ्जालमार्फत पार्टी सुदृढीकरणको आवश्यकता औँल्याउँदै सक्रिय देखिँदै आएका छन्। यही पृष्ठभूमिमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर काँग्रेस पक्षधर उदयमान युवाहरूले उम्मेदवारी दिएका छन्। तर पार्टीभित्रको विवाद र विभाजनका कारण हालसम्म आधिकारिक उम्मेदवारी सार्वजनिक हुन सकेको छैन।
डोटी जिल्लाबाट पनि फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि पुराना र नयाँ गरी थुप्रै नेताहरू चुनावी प्रतिस्पर्धामा छन्। काँग्रेसबाट प्रत्यक्षतर्फ १७ जनाको नाम सिफारिस गरिएको छ।
सिफारिस सूचीमा दोस्रो संविधान सभा सदस्य भइसकेका भरतबहादुर खड्का जस्ता पुराना पुस्ताका नेताहरू पनि छन्। प्रजातन्त्र पुनर्स्थापनादेखि निरन्तर राजनीतिमा सक्रिय खड्काको उमेर करिव ६५ वर्ष नाघिसकेको छ। खड्काको राजनीतिक यात्रा हेर्दा २०३९ सालमा तत्कालीन खिरसैन गाविस अध्यक्ष, २०४४ सालमा जिल्ला विकास समितिको सभापति, २०४९ सालमा उपसभापति हुँदै २०७४ सालमा प्रदेश सभा सदस्यसमेत निर्वाचित भएका छन्। फेरि यीनै खड्का नेता गगन नेतृत्वमा अटाउन सफल पनि छन् ।
यदि गगन थापाको नेतृत्वले फेरि पनि खड्का जस्ता पुराना अनुहारलाई टिकट दोहोर्यायो भने ‘पुस्तान्तरण’को नारामाथि नै प्रश्न उठ्ने र गगन नेतृत्वको आलोचना चर्किने निश्चित देखिन्छ। किनकि पुरानो नेतृत्व परिवर्तनको नाममा पूर्व सभापति शेरबहादुर देउवालाई पाखा लगाइएको थियो।
त्यस्तै अर्का पुराना नेता पूर्व सांसद वीरबहादुर बलायर पनि चुनावी दौडमा छन्। उनी कहिले कैलाली त कहिले डोटी दौडधुप गरिरहेकामा स्थानीय स्तरमा आलोचना पनि भइरहेको छ। गत निर्वाचनमा कैलालीबाट चुनाव लडेका बलायर पुनः डोटी फर्कनुले असन्तुष्टि बढाएको देखिन्छ।
यसैबीच सिफारिस सूचीमा नयाँ पुस्ताका प्रतिनिधिका रूपमा त्रिभुवन विश्वविद्यालयका निवर्तमान स्ववियु सभापति श्यामराज ओझाको नाम पनि समावेश छ। १७ जनामध्ये ओझा एक्ला युवा उम्मेदवार हुन्। बौद्धिक विद्यार्थी नेताका रूपमा चिनिएका ओझा स्ववियु सभापति रहँदा विद्यार्थीका समस्या, भावना र अधिकारका विषयमा स्पष्ट आवाज उठाउने नेताका रूपमा परिचित छन्। विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सक्ने सम्भावनायुक्त अनुहारका रूपमा उनलाई हेरिएको छ।
गगन थापाको नेतृत्वसँगै श्यामराज ओझा जस्ता युवालाई समेट्नुपर्ने माग सामाजिक सञ्जालमा तीव्र बन्दै गएको छ। अब प्रश्न यही हो—गगन थापाले काँग्रेसभित्र पुस्तान्तरणलाई व्यवहारमा उतार्छन् कि पुरानै राजनीतिक संस्कारलाई निरन्तरता दिन्छन् ?
युवाहरू भन्छन्,
“यदि गगन नेतृत्वले ओझा जस्ता युवालाई अवसर नदिएर ६०–६५ वर्ष नाघेका पुराना अनुहारलाई टिकट दियो भने गगन थापाको नेतृत्व छोटो समयमै बदनाम हुने खतरा छ।”
डोटीमा मात्र होइन, समग्र काँग्रेसभित्र यसपटकको निर्वाचनलाई पुस्तान्तरणको परीक्षा मानिएको छ। समाज र युवापुस्ताले श्यामराज ओझालाई ‘डाकिरहेको’ सन्देश स्पष्ट देखिन थालेको छ।
ओझासँग सम्बन्धित समाचार
डोटीबाट प्रतिनिधि सभाका लागि पूर्व स्ववियु सभापति श्यामराज ओझा सिफारिस
त्रिभुवन विश्वविद्यालयका निवर्तमान स्ववियु सभापति ओझा डोटीबाट चुनाव लड्ने चर्चा











