सिलगढी— सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज माघ १ गते मकर (माघे) सङ्क्रान्ति पर्व देशभर श्रद्धा र आस्थाका साथ मनाइँदैछ।
माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास छ। उत्तरायण सुरु हुने दिन स्नान, जप, तप, ध्यान र दानलाई पुण्यदायी मानिने धार्मिक मान्यता रहेको छ। यही कारण आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको ठूलो भीड लागेको छ। यी स्थानहरूमा विशेष मेला पनि लाग्ने गर्छ।
तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउने चलन छ। वर्षभर स्नान गर्न कठिन हुने तराईवासीले आज अनिवार्य रूपमा स्नान गर्नुपर्ने धार्मिक मान्यता राख्छन्।
धर्मशास्त्रअनुसार बिहान तीर्थस्थलमा स्नान गरी तिल दान गर्नाले सुन दान सरहको पुण्य प्राप्त हुने विश्वास छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार माघ १ गते स्नान, दान, ध्यान नगर्ने तथा घ्यू, चाकु, तिलका परिकार नखाने व्यक्ति जीवनभर रोगी हुने उल्लेख धर्मसिन्धु ग्रन्थमा पाइन्छ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिल, तरुल, पालुङ्गो, खिचडी लगायतका परिकार खाने परम्परा छ। चिसो मौसममा यी परिकारले शरीरलाई न्यानो राख्नुका साथै त्रिदोष नाश गर्ने आयुर्वेदिक मान्यता रहेको चिकित्सकहरू बताउँछन्। पुसको अन्तिम दिन पकाएको तरुल माघमा खाने चलनलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानले समेत जनाउँछ।
आजका दिन तिलको तेलले शरीर मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने तथा नाडी, स्नायुमण्डल र हड्डी सुदृढ हुने आयुर्वेद शास्त्रको विश्वास छ। सूर्य उत्तरायणपछि हुने मृत्युलाई पनि उत्तम मानिन्छ। महाभारतकालीन पात्र भीष्मले सूर्य उत्तरायणपछि मात्र देहत्याग गरेको कथन प्रचलित छ।
माघ महिनामा स्कन्द पुराणअन्तर्गत माघ माहात्म्यको विशेष महत्त्व रहेको छ। श्री स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म चल्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष पुस १९ गतेदेखि श्री स्वस्थानी व्रत कथा सुरु भइसकेको छ।
माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउँदैछ। माघ १ गते कन्दमूल—तरुल, सखरखण्ड, पिँडालु, वनतरुल—को सेवन गरिने परम्परालाई मध्यनजर गर्दै यो दिवस मनाउन थालिएको हो











