कैलाली — कैलालीको चर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा कैलाली जिल्ला अदालतले आज फैसला सुनाएको छ। लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या घटनामा अदालतले १३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सुनाएको हो।
जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहित ६ जनालाई जीवित रहेसम्म आजीवन जन्मकैदको फैसला सुनाएको अदालतका सूचना अधिकारी पंकज उपाध्यायले जानकारी दिए। आजीवन जन्मकैद पाउनेमा नवीन रावलसँगै आर्यान देवकोटा, रोशनबहादुर शाही, अनुज भन्ने चिरञ्जिवीजंग शाही, रोहित आले र हिमाल शाही रहेका छन्। उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम सजाय तोकिएको हो।
त्यसैगरी, मदन शाही, हेमन्त शाही, धिरज भन्ने दिपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिम जन्मकैदको सजाय सुनाइएको छ। साथै, लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई पनि अभियोग दाबी बमोजिम जन्मकैद हुने ठहर गरिएको छ।
अदालतले अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ दिएको छ। सुरुदेखि फरार रहेका प्रतिवादी लोकजंग शाहीको हकमा भने मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ।
कसुर ठहर भएका १३ जनाले संयुक्त रूपमा पीडित पक्षलाई १५ लाख रुपैयाँ दामासाहीका आधारमा क्षतिपूर्ति दिनुपर्ने आदेश अदालतले दिएको छ। साथै, कानुन बमोजिम जनही दुई हजार आठ सय रुपैयाँका दरले पीडित राहत रकम दाखिला गर्नुपर्ने ठहर गरिएको छ।
भूपेन्द्र बडुवालको २०७८ कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो। उक्त घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले २०७८ फागुन २६ गते नवीन रावलसहित २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो।











