सिलगढी— आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
वि.सं. १७७९ मा जन्मिएका पृथ्वीनारायण शाह आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता हुन्। बाइसे–चौबिसे राज्यहरूलाई एकीकृत गर्दै सुदृढ राष्ट्र निर्माणमा उहाँले पुर्याएको योगदानको स्मरण गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइने गरिन्छ।
यस अवसरमा सिंहदरबार पश्चिम ढोका अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरिँदैछ। शाहको जन्मस्थान गोरखामा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ। नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डामा रहेको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै सम्मान व्यक्त गरेको छ।
पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ।
२० वर्षको उमेरमा गद्दीआरोहण गरेका शाहले आन्तरिक तथा बाह्य चुनौतीबीच एकीकरण अभियान अघि बढाउँदै ५२ वर्षको उमेरमा वि.सं. १८३१ मा देहावसान गरेका थिए। उहाँका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सान्दर्भिक मानिन्छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र राष्ट्रिय स्वाधीनताको स्मरण गराउँदै विविधताबीच एकताको भावना मजबुत बनाउने सन्देश दिने विश्वास गरिएको छ। यस अवसरमा उपराष्ट्रपति, सभामुख, राजनीतिक दलका नेता तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्











