सिलगढी — देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराई भूभागका केही स्थानहरूमा हुस्सु लागिरहेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा मौसम अधिकांशतः सफा रहेको छ।
महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रहरूमा मौसम खुला छ। आज दिउँसो तराईका अधिकांश स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहने अनुमान गरिएको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली रहनेछ।
यस्तै, आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु लागिरहनेछ भने देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले तराई क्षेत्रमा बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











