बझाङ — बझाङ सदरमुकाम चैनपुरमा शुक्रबार बिहान भएको आगलागीले चार वटा उद्योग, होटल र पसल जलेर पूर्ण रूपमा ध्वस्त भएका छन्। आगलागीबाट करिब १ करोड ८१ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सबैभन्दा ठूलो क्षति किशोर खड्काको सिरक–डसना उद्योगमा पुगेको छ। उक्त उद्योगमा रहेका लत्ताकपडा, मेसिन उपकरण तथा अन्य सामग्री जलेर नष्ट हुँदा मात्रै १ करोड ५६ लाख ६६ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
उद्योगमा सल्किएको आगो फैलिँदा नजिकैका व्यवसाय पनि प्रभावित भएका छन्। हिरादेवी कठायतको पसलमा करिब १५ लाख, मेनुका खत्रीको होटलमा ५ लाख र चिरन परियारको पसलमा ५ लाख रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी खगेन्द्र धमलाले जानकारी दिए।
आगलागीको ठोस कारण खुल्न नसके पनि जाडोबाट बच्न बालिएको आगोबाट घटना सुरु भएको अनुमान प्रहरीको छ। “ताप्न बालिएको आगो नियन्त्रणबाहिर गएर उद्योगमा सल्किएको देखिन्छ,” डिएसपी धमलाले भने, “जाडोको समयमा असावधानीपूर्वक आगो बाल्दा यस्ता घटना बढ्ने जोखिम हुन्छ।”
बिहान करिब ९:३० बजे आगो लागेको सूचना पाएपछि स्थानीय बासिन्दा, नेपाली सेना र प्रहरीको संयुक्त प्रयासमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। आगो अन्यत्र फैलिन नदिन आसपासका टहरा हटाउनुपरेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले भने दमकल ढिलो पुगेका कारण क्षति बढेको गुनासो गरेका छन्। “समयमै दमकल आएको भए यति ठूलो क्षति हुने थिएन,” स्थानीय शैलेन्द्र रोकायाले भने। बझाङ उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र खड्काले पनि नगरपालिकाले दमकल सधैँ तयारी अवस्थामा राख्ने प्रतिबद्धता पूरा नगरेको आरोप लगाए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











