कञ्चनपुर , कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाटा, शुक्रराज टोलका ४० वर्षीय छक्कु डगौरा घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार बुधबार राति करिब साढे ९ बजे बस्तीमा पसेको जङ्गली हात्ती भगाउने प्रयासका क्रममा हात्तीले आक्रमण गरेको हो। आक्रमणबाट डगौराको टाउको, अनुहार, छाती र हातमा गम्भीर चोट लागेको जनाइएको छ।
घाइते डगौरालाई सुरुमा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
यसैबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जङ्गली जनावर बस्तीमा प्रवेश गर्दा स्थानीयलाई नधपाउन आग्रह गरेको छ। जनावरबाट भएको क्षतिको विवरण संकलन गरी कार्यालयमा बुझाए क्षतिपूर्ति उपलब्ध गराइने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताएका छन्।











