सिलगढी — देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिँदा मौसममा परिवर्तन आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली भूभागमा मौसम आंशिक बदली रहने अनुमान गरिएको छ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
यस्तै, काठमाडौँ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियसको हाराहारीमा रहने पूर्वानुमान गरिएको छ।











