कैलाली — सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस १६ गते बुधबार बस्ने भएको छ। कार्य व्यवस्था परामर्श समितिको आज बसेको बैठकले बुधबार दिउँसो २ बजे प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय गरेको हो।
यसअघि पुस ११ गतेका लागि तय गरिएको बैठक संसद भवनको पुनर्निर्माण कार्य पूरा नहुँदा स्थगित गरिएको थियो। गत भदौ २४ गते भएको नवयुवा आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी र तोडफोड भएपछि बैठक सञ्चालन हुन सकेको थिएन।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवाराज जैसीका अनुसार क्षतिग्रस्त भवनको पुनर्निर्माण कार्य सम्पन्न भएपछि अब बैठक बस्न लागेको हो। चालु अधिवेशन अन्तर्गत अन्तिम पटक गत भदौ ५ गते प्रदेश सभा बैठक बसेको थियो। त्यसयता लामो समयपछि पुस १६ गते पुनः बैठक बस्न लागिएको हो।











