कञ्चनपुर — अवैध रूपमा भारतबाट भन्सार छलि ल्याइएका राँगासहित कञ्चनपुरमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–२ बैजुडाडाबाट अन्दाजी १ लाख रुपैयाँ मूल्य बराबरका दुई वटा राँगासहित स्थानीय ५९ वर्षीय देवलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी टेडुवाबाट खटिएको टोलीले चौधरीलाई राँगासहित फेला पारेको र आवश्यक प्रक्रिया पूरा गरी त्रिनगर भन्सार कार्यालय धनगढी, कैलालीमा बुझाएको जनाएको छ।
यसैबीच कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलि भारतबाट ल्याइएका अन्दाजी २ लाख २१ हजार रुपैयाँ मूल्य बराबरका अवैध सामान पनि प्रहरीले बरामद गरेको छ। भीमदत्त नगरपालिका–९ मटेना जिरो पोइन्ट नजिक नहरको छेउ तथा भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रबाट ती सामान फेला परेका हुन्।
बरामद गरिएका सामानमा कपडा, हार्डवेयर सामग्री, किराना लगायतका वस्तु रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको गस्ती टोलीले ती सामानहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको जनाएको छ।











