सिलगढी, देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
पहााडी तथा हिमाली भूभागमा मौसम आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि तराईका धेरै स्थानमा हुस्सु कायम रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि अन्य भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पुनः हल्का वर्षा र हिमपातको सम्भावना छ।
मौसम विभागले तराई क्षेत्रमा देखिने हुस्सु तथा कुहिरोका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।











