डोटी, नेपाली कांग्रेस के.आई. गाउँपालिकाका सभापति तथा सुजङ्ग अस्पताल राजपुर, डोटीका प्रमुख प्रशासकीय अधिकृत अर्जुन बलायरले धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मानिने श्री दुर्गामाण्डौँ मन्दिरको घेरबार निर्माणका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।
मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरको संरक्षण, सुरक्षा र व्यवस्थित विकासका लागि घेरबार निर्माण आवश्यक रहेकाले बलायरले आर्थिक सहयोग गर्नुभएको हो। समितिले उहाँको योगदानलाई समयानुकूल, दूरदर्शी र प्रेरणादायी रहेको जनाएको छ।
श्री दुर्गामाण्डौँ मन्दिर स्थानीय धार्मिक आस्थासँगै इतिहास, संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा रहेको छ। मन्दिरको संरक्षणमा गरिएको यस सहयोगले धार्मिक सम्पदाको जगेर्नामा सकारात्मक सन्देश जाने विश्वास गरिएको छ।
मन्दिर व्यवस्थापन समिति, स्थानीयवासी तथा श्रद्धालुहरूले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक र जनहितकारी कार्य निरन्तर हुने अपेक्षा गरेका छन्।











