डोटी, पुस ८
डोटीको जोरायल गाउँपालिका–६ गापरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब २ बजे आफ्नै कोठामा रहेका २८ वर्षीय खेम साउँदलाई बिजुलीको तार सर्ट भएर छातीमा करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका साउँदलाई आफन्तले तत्काल उपचारका लागि साँझ ५ बजे सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएका थिए। तर उपचारकै क्रममा साँझ साढे ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।











