कञ्चनपुर,
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरमा मंसिरको दोस्रो साता भएको सामुदायिक वन फँडानी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले सामुदायिक वनका पदाधिकारी तथा सम्बन्धित व्यक्तिहरूसँग बयान लिने काम तीव्र बनाएको जनाएको छ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीका अनुसार सामुदायिक वनका अध्यक्ष, सचिवसहित पदाधिकारी, सदस्य र घटनाबारे जानकारी दिने प्रहरीको समेत बयान संकलन भइसकेको छ। “अब एक हप्ताभित्र अनुसन्धान सकाएर मुद्दा प्रक्रियामा जाने तयारी छ,” उनले बताए।
मंसिर ११ गते दिउँसो एकदेखि डेढ घण्टाको अवधिमै गौरीघाट सामुदायिक वनका १ सय ६४ वटा रुख कटान गरिएको थियो। करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा अहिले थोरै मात्र रुख बाँकी छन् भने अधिकांश भाग वनमाराको झाडीमा परिणत भएको छ। चारैतिर बस्तीले घेरिएको वनमा दिउँसै ‘फिल्मी शैली’मा फँडानी भएपछि घटनाले ठूलो चासो पाएको थियो।
घटनापछि डिभिजन वन कार्यालयले सवडिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत तोकेको छ। उनी नेतृत्वको टोलीले फँडानी क्षेत्रको अनुगमन र सम्बन्धित व्यक्तिहरूसँग बयान लिने काम गरिरहेको छ।
वन प्रमुख डिसीका अनुसार अनुसन्धान गर्दा मुख्य दोषी उम्किन नदिन विशेष सतर्कता अपनाइएको छ। “तर मौखिक रुपमा एउटा कुरा र बयानका बेला फरक कुरा आउने भएकाले अनुसन्धानमा चुनौती देखिएको छ,” उनले भने।
डिभिजन वन कार्यालयका विवरणअनुसार कटान गरिएका रुखमध्ये १६ देखि ८४ इन्च मोटाइका १ सय ३५ वटा खयर, २४ देखि ६४ इन्च मोटाइका २८ वटा सिसौं र एक वटा कञ्जु छन्। कटान भएकामध्ये ६१ गोलिया खयरको १ सय १ दशमलव ५५ क्यूफिट र ४१ गोलिया सिसौंको ८१ दशमलव ०३ क्यूफिट काठ बरामद गरिएको छ। बाँकी काठ फेला नपरे पनि ठुटाका आधारमा बिगो दाबी गरिने वन कार्यालयले जनाएको छ।
यसैबीच, सवडिभिजन वन कार्यालय पिपरैयाका कर्मचारीहरू कटान भएको काठ र फँडानीमा संलग्न व्यक्तिहरूको खोजीमा परिचालित छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा समेत संलग्नको पहिचान गर्ने प्रयास भइरहेको छ।
स्थानीयका अनुसार मोहना नदी किनारको बगरमा २०५५ सालमा स्थानीयकै पहलमा वृक्षारोपण गरी उक्त वन हुर्काइएको थियो। २०६२ सालमा दर्ता भई समुदायलाई हस्तान्तरण गरिएको यो वनले विगतमा अतिक्रमणका प्रयाससमेत स्थानीयकै सक्रियतामा रोक्दै आएको थियो।











