डोटी । डोटीको जोरायल गाउँपालिका–४ स्थित सिराड सामुदायिक वनमा अवैध रूपमा रुख काटिएको घटनामा सम्बन्धित व्यक्तिबाट ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।
सामुदायिक वन क्षेत्रमा आठ वटा उतिसका रुख काटिएको पाइएपछि स्थानीय भक्तबहादुर पुन मगरले वन समूहलाई उक्त रकम जरिवानाबापत तिरेको डिभिजन वन कार्यालय डोटीले जनाएको छ।
घटनापछि स्थानीयस्तरमा सामुदायिक वन समूहका अध्यक्ष योगेन्द्र गुरुङको मिलेमतोमा रुख कटानी गरिएको आरोप लागेको थियो। तर छानबिनका क्रममा त्यस्तो कुनै प्रमाण नफेला परेको डिभिजन वन कार्यालयले स्पष्ट पारेको छ।
डिभिजनल वन अधिकृत गोकुल रिजालका अनुसार सामुदायिक वनबाट विभिन्न साइजका आठ वटा रुख काटिएको पुष्टि भएपछि वन समूहको विधान र कार्ययोजनाअनुसार जरिवाना असुल गरिएको हो।
यसैबीच, सामुदायिक वन समूहका अध्यक्ष गुरुङले रुख कटानीमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै दोषी ठहरिएका व्यक्तिबाट नियमानुसार जरिवाना लिइएको जानकारी दिएका छन्।
डिभिजन वन कार्यालयले सामुदायिक वन क्षेत्रमा अवैध गतिविधि नगर्न र नियमअनुसार मात्रै काठ–दाउरा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।











