दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ अन्तर्गत पर्ने गोकुलेश्वर–लटिनाथ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार हिजो साँझ करिब ८ः५५ बजे मार्मा गाउँपालिका–६ सेरी निवासी २६ वर्षीय माधव महराले चलाएको सुप.प्र. ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० देखि २५० मिटर तल खसेको हो।
दुर्घटनामा जिपमा सवार मार्मा गाउँपालिका–३ भैसे निवासी २२ वर्षीय केशव राज जोशी जिपले च्यापिएको अवस्थामा फेला परेका थिए। घटनापछि तत्काल उद्धार गरी उनलाई मार्मा आधारभूत स्वास्थ्य चौकी पुर्याइएको भए पनि उपचारका क्रममा २०८२ साल ०९ महिना ०६ गते बिहान १ः०५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको छ भने चालक माधव महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।











