बैतडी । बैतडीका महिला किसानहरू घरयासी प्रयोजन मात्रका लागि हुँदै आएको बेसारखेतीलाई अहिले व्यावसायिक उत्पादनको रूपमा अगाडि बढाउँदैछन्।
पाटन नगरपालिका–६ की कलसा लुहारले बताइन, “पहिले बाँदर र अन्य जङ्गली जनावरले बालीमा क्षति पुर्याउँथे। अहिले बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा बेसारखेती सुरु गरेका छौँ।”
जिल्लाका पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकामा आबद्ध ४४ महिला उद्यमी समूहका सदस्यहरूले बेसारखेती गरिरहेका छन्। सुर्नया गाउँपालिका–६ की पवित्रा शाहले घरका लागि मात्र उत्पादन गर्दै आएको बेला अहिले व्यावसायिक खेतीमा प्रवेश गरेको जानकारी दिइन्। उनले भनिन्, “‘सारथी नेपाल’को ‘दिगो आम्दानीमार्फत महिला उद्यमी सशक्तीकरण’ परियोजनाअन्तर्गत बिउ र प्राविधिक सहयोग पाएपछि बेसारसँगै लसुनखेती पनि गरिरहेका छौँ।”
परियोजना पाटन नगरपालिका–६, ८, ९, सिगास गाउँपालिका–१ र २ तथा सुर्नया गाउँपालिका–६ मा सञ्चालन भइरहेको छ। परियोजनाका फिल्ड सुपरभाइजर दीपेश धामीका अनुसार बाँझो जमिनको सदुपयोग गरी महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ।
कार्यक्रम संयोजक भुपाल बोहराले बताए, “महिलाहरू मेहनतपूर्वक खेती गरिरहेका छन्। यस वर्ष करिब ३५० क्विन्टल बेसार उत्पादन हुने अपेक्षा छ। बेलाबेला प्राविधिकसहित बारीमा गएर समस्या र समाधानमा छलफल पनि गर्छौँ।”
यस परियोजनाबाट महिलाले बेसार, अदुवा, लसुन र टनेलभित्र गोलभेँडा खेती गरी आफ्नो आम्दानी वृद्धि गर्दै आत्मनिर्भर बन्न सक्ने अपेक्षा गरिएको छ।











